बुधबार, बैशाख १२, २०८१ Wednesday 24th of April 2024

देवदह मेडिकल कलेजमा क्षयरोग सम्बन्धि कार्यक्रम सम्पन्न

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६


देवदह मेडिकल कलेजमा क्षयरोग सम्बन्धि कार्यक्रम सम्पन्न

बुटवल – नेपाल सरकार प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा Save The Children को सहयोगमा क्षयरोग कार्यक्रम सि.एम.ई. सम्बन्धित कार्यक्रम आइतबार देवदह मेडिकल कलेजमा सम्पन्न भएको छ । कलेजका हस्पिटल डाइरेक्टर डा. बिक्रम ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रुपन्देहीका टिकाराम अधिकारीले गर्नु भयो भने उपस्थित सबैलाई स्वागत कलेजका प्रशासन प्रमुख माधव सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रममा क्षयरोगको निदानको सम्बन्धमा भएका परिवर्तन, प्रगति, बर्तमान स्थिती, तथा नेपाल सरकार र विश्व स्वास्थ संगठनले अवलम्बन गरेका कार्यक्रमको बारेमा सहजकर्ता द्वय स्वास्थ्य कार्यालय रुपन्देहीका टिकाराम अधिकारी र भिम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बुद्धि बैदवारले गर्नुभएको थियो । स्वास्थ्य निर्देशनालय बुटवलका बरिस्ठ जनस्वास्थ्य प्रशाशक रोशन लाल चौधरीले निजी, सामुदायिक तथा सरकारी स्वास्थ सस्था मिलेर क्षयरोगको निदान तथा उपचारको लागि अगाडि बढ्नुपर्ने बताउँदै नेपाल सरकार सबैसंग हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले अहिले पनि उपचार स्थिति भयावह रहेको बताउँदै यसको निदानको लागी सबै क्षेत्रबाट सहयोग अपेक्षा गरेको बताउनुभयो । यसको निदानका सन्धर्वमा देवदह मेडिकल कलेजले ठुलो सहयोग गरेको र अाउँदा दिनमा पनि गर्ने अपेक्षा रहेको बताउनु भयो । डाक्टर सन्तोष कुमार बस्याल र डाक्टर लक्ष्मण पौडेलले सहजकर्ताले राखेको प्रस्तुति माथि टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष डाक्टर बिक्रम ज्ञवालीले सो कार्यक्रम आयोजना गर्ने नेपाल सरकार प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय रुपन्देहीको तथा सहयोग गर्ने Save The Children तथा सहभागी देवदह मेडिकल कलेजका विभिन्न निकायका प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्नुभय‍ो । उहाँले नेपाल सरकार तथा स्वास्थ्य कार्यालय संग क्षयरोग निवारण सम्बन्धि मात्र नभइ अन्य गतिविधिमा पनि सहकार्य गरेर अगाडि बढ्न देवदह मेडिकल कलेज तयार रहेको बताउनु भयो । सिपयुक्त स्वास्थ्यकर्मीको कमि अझैसम्म रहेको बताउँदै स्वास्थ्यकर्मी लाई कसरी सिपयुक्त बनाउन सकिन्छ भन्नेबारे सचेत रहन अाग्रह गर्नुभयो । कार्यक्रममा Save The Children बाट दिवस अाचार्य र भिम बहादुर सिँह, कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेका मिलन महर्जन, देवदह मेडिकल कलेजका प्रशासन प्रमुख माधव सापकोटा, कलेजका अस्पताल ब्यवस्थापक डा. बिनोद गुप्ता, कलेजका विभिन्न विभागीय डाक्टरहरु किरण पन्थी, सन्तोष कुमार बस्याल, लक्ष्मण पौडेल, सागर रिमाल, मोहन तिवारी, सुमि मरहट्टा, तिर्थ नारायण साह, प्रविना राना, कलेजका अप्रेसन म्यानेजर सुरज खरेल, सुचना अधिकृत कृष्ण घिमिरे, मेट्रोन प्रज्ञा पाण्डे तथा विभिन्न बिभागका नर्सहरुको उपस्थिति थियो ।

क्षयरोग के हो र कसरी बच्न सकिन्छ ?

क्षयरोग विश्वमा  प्रमुख जन–स्वास्थ्य समस्याको रुपमा रहिआएको छ। वि.स.२०७० को तथ्यांक अनुसार नेपालमा करिब ६० प्रतिशत वयष्क जनशक्ति क्षयरोगबाट संक्रमित छन् । त्यसमध्ये करिब ८० – ९० हजार मानिस क्षयरोगबाट पीडित छन् र करिब ५ हजारदेखि ७ हजार व्यक्ति प्रति वर्ष क्षयरोगबाट मर्ने गर्छन्।

क्षयरोग  माइकोव्याक्टेरियम ट्युवरकुलोसिस ;; (mycobacterium tuberculosis) नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ ,खाना, यौनजन्य क्रियाकलापबाट भने सर्दैन। र अर्को कुरा क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन।

यदि क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन, रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ। जस्तैः कुपोषण, एच.आई.भी.संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ। क्षयरोगको किटाणुले आक्रमण गरेका व्यक्ति मध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकशित हुन सक्छ अर्थात रोगका लक्षण देखा पर्दछन्।

मुख्यतः क्षयरोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ
१) फोक्सोको क्षयरोग
२)फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थी, आन्द्रा,  मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि)।

फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोगको निदान गर्न फोक्सोको क्षयरोग भन्दा गाह्रो हुन्छ ।

फोक्सोको क्षयरोगका लक्षणहरू –

दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु ,शरीरको तौल घट्नु , खासगरी बेलुकापख ज्वरो आउनु ,छाति दुख्नु ,खाना अरुची हुनु ,खकारमा रगत देखिनु आदि।

त्यसैगरी फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगका लक्षणहरु

अंग अनुसार फरक हुने गर्छ। जस्तै टि.बी. मेनेन्जाइटिस भएको खण्डमा विस्तारै– विस्तारै टाउको दुख्न थाल्ने, ज्वरो आउने ,घाँटी अररो हुने ,मानसिक भ्रम हुने ,शरीर काम्ने तथा बेहोस हुने आदि हुन सक्छ । हाड तथा जोर्नीको क्षयरोग भएको खण्डमा क्षयरोगले प्रभावित पारेको हाड वा जोर्नी दुख्ने,हाड जोर्नी चलाउन गाह्रो हुने तथा सुन्निने, पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ। पेटको क्षयरोग  भएको खण्डमा पेट दुख्ने,दिसा पातलो हुने, दुब्लाउँदै जाने, पेटमा छाम्दा डल्लो फेला पनेर्, मन्द ज्वरो आउने तथा खाना रुची नहुने आदि हुन सक्छ।

त्यस्तै ग्रन्थीको क्षयरोग भएको खण्डमा  ग्रन्थीको आकार बढ्ने, ग्रन्थीमा तातोपन नहुने, सुन्निने ग्रन्थी नदुख्ने साथै धेरै ग्रन्थीहरु एक अर्कामा जोडिएको जस्तो हुने र पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ।

क्षयरोग निदान कसरी गर्ने ?

फोक्सोको क्षयरोग निदान गर्ने सरल ,भरपर्दो उपाय भनेको खकार परीक्षण गर्नु नै हो।  दुइ हप्ता भन्दा बढी खोकी लागेमा अनिवार्य खकार परीक्षण गर्नुपर्दछ । त्यस्तै  क्षयरोग निदानको लागि एक्स–रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन्। केही गरी निदान गर्न गाह्रो भएमा Gene Xpert प्रविधिबाट परीक्षण गराउनु पर्छ। फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि FNAC, Biopsy, Culture test आदि परीक्षण उपयोगी हुन्छन् ।

नियमित रूपमा औषधिको सेवनबाट क्षयरोग निको हुने

क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट  पूर्ण रूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ । उपचार अवधी भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ। यस अवधिमा सबै विरामीहरुलाई डट्स अन्तर्गत राखेर उपचार गरिन्छ ,जसमा  विरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ। औषधिहरुको सेवनबाट  पिसाव रातो हुन सक्छ तर यो सामान्य हो,डराउनु पर्दैन ।

बच्ने उपाय ः
१. यो रोग विशेष गरेर धूमपान तथा मद्यपान गर्नाले लाग्दछ । त्यस कारण यस्ता वस्तुको सेवन नगर्ने ।
२. बढी धुवाँ वा धुलो भएको स्थानमा नबस्ने ।
३. खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख, नाक छोप्ने ।
४. बालबालिकामा निश्चित समयमा बीसीजी खोप लगाउने ।
४. क्षयरोग लागेका व्यक्तिभन्दा टाडै बस्ने । रोगीको जुठो नखाने ।

कस्ता व्यक्तिलाई बढी सङ्क्रमण हुन्छ ?
१. यो रोग यही उमेर वा लिङ्गका व्यक्तिलाई लाग्छ भन्ने छैन । जुनसुकै उमेर समूहका व्यक्तिमा यो देखापर्न सक्छ ।
२. रोगीको सम्पर्कमा धेरै पटक आउने व्यक्ति ।
३. धेरै भीडभाडमा बस्ने व्यक्ति ।
४. बढी मध्यपान वा धूमपान गर्ने व्यक्ति ।
५. दीर्घ रोग लागेका व्यक्ति, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra