शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

देवदहमा डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६


देवदहमा डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम  सम्पन्न

डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम देवदह नगरपालिका रुपन्देहीको आयोजनामा मदन आश्रित सभाहल देवदह – ७, शीतलनगरमा सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष नगरप्रमुख हिराबहादुर खत्रीको उद्घाटन, नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङको स्वागत मन्तब्य, नगरपालिकाका प्रमुख प्रशाशकिय प्रमुख शशिधर घिमिरे, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरी, देवदह मेडिकल कलेजका प्रशासन प्रमुख माधब सापकोटा लगायत नगरपालिकाका विभिन्न वार्डाका अध्यक्षहरु, नगरकार्यपालीकाका सदस्यहरु, विभिन्न विद्यालयका प्रतिनिधि शिक्षकहरु, विभिन्न स्वास्थ्य सस्थाका प्रतिनिधिहरु, पत्रकारहरु लगायतको उपस्थितिमा सो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य प्रमुख सञ्चाल ध्रुव घिमिरेले गर्नुभएको थियोे ।

अभिमुखिकरण कार्यक्रमको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्टोलर केदारनाथ साहले सहजिकरण गर्नुभयो । सहजकर्ताले बताए अनुसार भदौ २३ गतेसम्म रुपन्देहीमा ९० जनामा डेंगु देखिएको जसमध्ये रुपन्देही जिल्ला बासी ६१ जना र रुपन्देहीमा परिक्षण गराएका अन्य जिल्लाका गरि ९० जना पुगेको बताउनु भयो । यो वर्ष बुटवल उपमहानगरपालिकामा ४० जना, देवदह नगरपालिकामा ५ जना, तिलोत्तमा नगरपालिकामा ७ जना, लुम्बिनी सास्कृतिक नगरपालिकामा २ जना, सैनामैना नगरपालिकामा ४ मा डेंगु देखिएको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीका अनुसार बिरामीको संख्या दैनिक बढिरहेको छ । भदौं २३ गतेसम्म ९० जनामा संक्रमण देखिएको हो । जसमध्ये ६० जना उपचारपछि घर फर्किएका छन् । यो वर्ष भदौ महीनादेखि सङ्क्रमण फैलिएको हो । विगतका वर्षहरुको तुलनामा सङ्क्रमण नफैलिए पनि लामखुट्टेको सङ्ख्या वृद्धि हुने समय अझै बाँकी रहेकाले भदौदेखि मङ्सिरसम्मको अवधिमा सङ्क्रमण फैलिन सक्ने प्रमुख गिरीले बताए । कार्यक्रमको समापन गर्दै नगरप्रमुख खत्रीले डेंगु नियन्त्रणकोलागी सबै पक्षसँग हातेमालो गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

डेंगु के हो ? लक्ष्यण के के हुन्छन ? सावधानी कसरी अपनाउने ?

एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो। यसको संक्रमणमा सुरूआती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा पर्छ । संक्रमितमध्ये केही थोरै भने सिकिस्त पनि हुन सक्छन्। रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ। शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्छ। रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुनसक्ने भएकोले बेलामा (सामान्य ज्वरो हुँदा) नै चिकित्सकको निगरानीमा उपचार गराउनु बुद्धिमानी हुनेछ।

सरोकारवाला सबैले के-कसरी भूमिका निर्वाह गर्ने ?

महामारीको समयमा सबभन्दा ठूलो दायित्व सरकार र सरकारका निकायमा बस्नेहरूको नै हुन्छ।  किटनै छैन, उपचारनै छैन, उपल्लो निकायलाई गुहारेका छौं, जस्ता अभिव्यक्तिहरू नितान्त गैरजिम्मेवार, जनमानसलाई हतोत्साही गराउने र त्रास पैदा गराउने खालका छन।

हो, पूर्व तयारी नहुन सक्छ तर निदान गर्ने किटहरू सस्तै पर्ने र जाँचको लागि कुनै नयाँ प्रविधि र विशेष सीप नचाहिने हुँदा, सरकारको लागि यी कुराको शिघ्र उपलब्ध गरिदिन कुनै समस्या पर्ने देखिँदैन,जसको लागि सरकार र सरकारी निकाय जिम्मेवार हुनैपर्छ। स्तरीय किट खरिद गर्दा पनि ३० हजारदेखि ५० हजार रुपैयाँको किट (Dengue IgM ELISA) खरिद गर्दा लगभग ७० देखि ८० जना बिरामीको रोगको निदान गर्न सकिन्छ।
विगतमा २०१० पछि नेपालमा विशेषत चितवन,झापा,महोत्तरी र रुपन्देहीमा डेंगुको संक्रमण अत्यधिक रूपमा पाइन्छ।

तराईमा नै एडिस लामखुट्टेको उपस्थिति, उस्तै हावापानी र पर्यावरण भएता पनि माथिका जिल्लामा बाहेक अरु क्षेत्रमा बिरामी प्रस्टै रूपमा कम हुनुले डेंगु एकैचोटि देशव्यापी महामारीको रूपमा देखा नपर्ने स्पष्ट संकेत गर्छ। यदि कोही डेंगु संक्रमित भएर आयो, अनि स्थानीय एडिज लामखुट्टेले त्यो संक्रमित व्यक्तिलाई टोकी आफैं संक्रमित हुन पाए भने, वरिपरि अथवा परिवारकै अरु सदस्यलाई सार्न थाल्छन्।

यी लामखुट्टेहरू जसका खुट्टा र जिउमा सेतो चिन्हहरू हुन्छन् ती प्राय: मान्छेकै वरिपरि बस्न रुचाउने र टाढाटाढासम्म नजाने हुँदा संक्रमण शिघ्र रूपमा देशव्यापी हुन पाउँदैन। हामी व्यक्तिगत रूपमा भन्दा डेंगुकोको यस्तो संक्रमणलाई व्हर्लपूलको (चक्र) नाम दिन रुचाउँछौं। तर यो एउटा व्यक्ति/व्यक्तिबीच सर्ने सरुवा रोग भने होइन।

यसकारण पनि देशव्यापी नै त्रसित हुनु हामी आवश्यक ठान्दैनौं। यद्यपी, संक्रमितहरू कामकाज र पर्यटनको सिलसिलामा अर्को ठाउँमा गई त्यहाँका रैथाने लामखुट्टेकोलाई संक्रमण नगरलान भन्न सकिँदैन।

अहिलेसम्म डेंगुको औषधि अथवा खोप नेपालमा छैन। तथापि, सुरूआती लक्षणको डेंगुलाई चिकित्सकहरूले सजिलै निको पार्न सक्छन्।

यस्तो अवस्थामा यसको संक्रमण र महामारीबाट बच्ने सरल र उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो।

यसका लागि पूरै हातखुट्टा छोप्ने किसिमका कपडा लगाउने, घर वरिपरि सफा गर्ने र पानी जम्मा हुन नदिने, टायर, फुटेका गिलास र कचौरा अथवा पानी जम्न सक्ने खालका कुनै पनि कुरा नराख्ने, झ्याल र ढोकामा जाली लगाउने गर्नुपर्छ।

स्थिर अवस्थामा रहेको पानी लामखुट्टेको  लागि प्रजनन् तथा विकास गर्नलाई सहयोग पुर्याउँछ। त्यसैले हरेक वडा, टोलमा जनचेतना तथा लामखुट्टेका लार्भा र फूल नष्ट गर्ने कामलाई अभियानकै रूपमा चलाउनु नै उत्तम उपाय हो।

स्थानीयहरूलाई लामखुट्टेको रोकथाममा सहयोग गर्न सरकारी निकायले विज्ञहरूको साथ लिई योगदान दिनुपर्ने हुन्छ। हामीले यस्तो संयुक्त प्रयासलाई ‘छिमेकले छिमेकीलाई, राज्यले नागरिकलाई सहयोग जस्तो अभियान’को नाम दिदा सार्थक हुने विश्वास गरेका छौं। हामी नेपाली स्वभावैले छरछिमेकलाई सहयोग गर्ने प्रवृत्तिका हुन्छौं। यो अभियानमा विज्ञहरूले टोलटोलमा गई आमनागरिकलाई लामखुट्टे न्यूनीकरणका उपाय सिकाउँछन्। पछि, यी सिकेका कुराहरू एक छिमेकीले अर्को छिमेकीलाई घर वरिपरि लामखुट्टेको रोकथाम गर्न सजग र सहयोग गर्छन्। सामान्य रूपमा बुझ्नु पर्दा जबसम्म छिमेकका लामखुट्टेको रोकथाम हुँदैन, हामी एक्लै सुरक्षित हुन सक्दैनौं।

अन्त्यमा, हामी, सजग रहौं, संक्रमणका लक्षणहरू देखिए शिघ्र उपाचार खोजौं, घर वरिपरि लामखुट्टे न्यूनीकरण गरौं, तर भयभित भने नहोऊ भनि आग्रह गर्दछौं।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra