बुटवल : कोरोना भाइरस (कोभिड १९) लाई जोडेर सामाजिक सञ्जालमा झूठा प्रचारहरु हुन थालेका छन् । यस क्रममा झूठो प्रचार गर्ने एक जनालाई शनिबार प्रहरीले समातेको छ ।
समाजिक सञ्जालहरुमा कोरोना संक्रमणबारे थुप्रै झुट्टा हल्लाहरु फैलिएका छन् । र, ती सामाजिक सञ्जालका ग्रुप तथा म्यासेजहरूमा भाइरल बनेको छन ।
हल्ला एक : नर्भिक हस्पिटलमा ६ जनालाई कोरोना देखियो । महामारी फैलिसकेको छ नेपालमा ।
सत्यता : संक्रमण देखिएको भनेर अफवाह फैलाइएपछि शनिबार दिउँसो नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अहिलेसम्म कुनै पनि बिरामीमा संक्रमण नदेखिएको प्रष्ट पारेको छ ।
साथै, कोरोना संक्रमण भए नभएको जाँच गर्ने एउटा मात्र निकाय हो, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु । यो बाहेक अरु कुनै पनि ल्याब वा अस्पताललाई कोरोना संक्रमण भए/नभएको जाँच गर्ने अनुमति नै पाएका छैनन् ।
हल्ला दुई : राति १२ बजे विशेष सैन्य हेलिकोप्टरले कोरोना भाइरसविरुद्ध औषधि छर्किँदैछ, बाहिर नबस्नुस् ।
सत्यता : मध्यरातमा नेपाली सेनाको हेलिकप्टरले औषधि छर्किँदैछ भन्ने प्रचार पनि अफवाह नै हो ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानराज पाण्डेले यसको खण्डन गरेका छन् । सेनाले यसबारे विज्ञप्ति नै निकालेर भ्रमको खण्डन गरेको छ ।
साथै कोरोना भाइरसको अहिलेसम्म कुनै औषधि पत्ता लागेको पनि छैन ।
हल्ला तीन : टेकु अस्पतालमा प्लास्टिकले बेरेका ५ वटा शव देखेँ । १७ वटा पशुपतिमा जलाइयो ।
सत्यता : यस्तै टेकु अस्पतालमा कोरोनाका कारण मृत्यु भएको दाबी पनि अफवाह भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यसरी अफवाह फैलाउने व्यक्ति हाल अमेरिकाको टेक्कसमा भएको पाइएको छ । र, उनको त्यो पोष्ट हटाउन सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पत्राचारसमेत भइसकेको छ ।