काठमाडौं — उमेरले तीन दशक पनि नकाटेकी उनको अनुहारमा चाउरी देखिन्छ । शरीर पनि ख्याउटे । काखमा पाँच सन्तान । थोरै काम धेरै थकानले उनी दिक्क भइसकिन् । २७ वर्षको उमेरमा ७ पटक गरेको गर्भपतनका कारण उनी मानसिक र आर्थिक हिसाबले कमजोर भइसकेको बताउँछिन् । उनी भन्छिन्, ‘पाँचचोटी त औषधि खाएर बच्चा फालें । २ पटक अपरेशन गरें ।’
श्रीमान्ले परिवार नियोजनका साधन प्रयोग गर्न नमानेपछि धेरै पटक गर्भपतन गर्नुको विकल्प नपाएको उनले बताइन् । यति मात्रै होइन श्रीमानले आफुलाई पनि साधन प्रयोग गर्न नदिने उनले दुखेसो गरिन् । प्रत्यकपटक गर्भपतन गर्न जाँदा स्वास्थ्यकर्मीले ‘साधन प्रयोग किन नगरेको’ भन्दै हकार्दा उनलाई स्वास्थ्यचौकी जान समेत तनाव लागिसकेको छ । धेरैपटक गर्भपतन गरेका कारण महिनावारी गडबडी र पाठेघर संक्रमणको शिकार भइसकिन् उनी । अझै कति पटक गर्भपतन गराउनुपर्ने हो भन्ने चिन्ताले पनि उत्तिकै सताएको छ उनलाई ।
उनी जस्तै थापाथलीस्थित प्रसूति गृहमा असुरक्षित गर्भपतनका जटिलता लिएर दिनहुँ महिला इमर्जेन्सीमा भर्ना हुन्छन् । अत्याधिक रक्तश्रावले बेहोश हुने । औषधि सेवनपछिको रक्तश्राप नरोकिने र संक्रमणका समस्या लिएर बढी आउने अस्पतालले जनाएको छ ।
अस्पतालकी प्रशासन प्रमुख रानु थापा भन्छिन्, ‘तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन नगराएका कारण कति त आधा गर्भ पेटमै छुटेका समस्या लिएर आउँछन् । धेरै दिन अस्पताल भर्ना भएपश्चात मात्रै उनीहरूलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ ।’
विशेषज्ञका अनुसार धेरैपटक गर्भपतन गराउँदा महिलाको ज्यानै जान सक्ने खतरा हुन्छ । गर्भपतनको जोखिमबारे जानकार नभएका महिलाले यसलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गरिरहेको बताउँदै स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले भने, ‘जतिपटक शरीरभित्र उपकरण छिरायो उति नै पाठेघर संक्रमित हुने जोखिम बढ्छ । असुरक्षित गर्भपतनले पाठेघरको क्यान्सर नै गराइदिन सक्छ ।’
रक्तश्राव नरोकिएर कति महिलालाई आइसीयू र भेन्टीलेटरको साहरामा राख्नुपर्ने स्थिती आउने गरेको उनले बताए । उनका अनुसार असुरक्षित गर्भपतनले मिर्गौला फेल गराएर ज्यान समेत जानसक्छ । यौन सम्पर्क राख्दा परिवार नियोजनका साधन प्रयोग गरी सकेसम्म गर्भपतन गर्नुपर्ने स्थिती नै आउन नदिन डा.सुवेदीको सल्लाह छ ।
गर्भपतन नै गर्नुपरे नेपाल सरकारले सूचिकृत गरेका स्वास्थ्य संस्था र तालिमप्राप्त चिकित्सक या स्वास्थ्यकर्मीको सल्लाहमा गर्नुपर्ने उनले बताए ।
विश्व स्वास्थ्य संठगनको तथ्याकं अनुसार असुरक्षित गर्भपतनको जटिलताका कारण विश्वव्यापी ५० लाख महिला विभिन्न रोगबाट ग्रसित छन् । १३ प्रतिशत मातृमृत्युदरको कारण पनि यही हो । विश्वमा प्रतिवर्ष करीब ५ करोड महिलाले गर्भपतन गराउँछन् । ४५ प्रतिशत गर्भपतन असुरक्षित नै हुने गरेको छ । यसले महिलाको स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक अवसरहरूमा बाधा पुर्याइरहेको छ ।
२० वर्षमुनिका किशोरीले गर्भपतन गराउँदा उनीहरूमा बाँझोपन समेत बढ्ने डा. सुवेदी बताउँछन् । सरकारी स्वास्थ्य संस्था किशोरकिशोरीमैत्रीपूर्ण नहुँदा उनीहरू असुरक्षित गर्भपतनतर्फ धकेलिएका छन् । असुरीषत गर्भपतन घटाउन निशुल्क सेवामा मात्रै लगानी नगरि सरकारले गर्भपतनबारे विद्यालय, घर र समुदायलाई नै सचेत गराउनुपर्ने प्रसूति गृहको गर्भपतन सेवा इन्चार्ज जयन्ती छत्यालले बताइन् ।
‘गर्भपतनले कानूनी मान्यता पाइसक्यो र यो निशुल्क छ भन्ने शहरका शिक्षित महिलालाई नै थाहा छैन । यहाँ आएका अधिकांशले गर्भपतन सेवाको शुल्क सोध्छन्,’ उनले भनिन् । गोपनियतामा ढुक्क हुन नसक्दा कमै मात्रै किशोरी यो सेवा लिन आउने गरेको उनले बताइन् ।
१६ वर्षअघि गर्भपतनले नेपालमा कानूनी मान्यता पायो । कानूनी मान्यता पाएसँगै सरकारी संस्थाबाट निशुल्क सुरक्षित गर्भपतन सेवा पनि सुरु भयो । १६ वर्ष पुगिसक्दा पनि विभिन्न कारणले महिला अझै असुरक्षित गर्भपतनतर्फ धकेलिरहेका छन् । कृपाले २०१४ मा गरेको अध्ययन अनुसार नेपालमा गर्भपतन गर्ने आधाभन्दा बढीले असुरक्षित तरिकाले गर्भपतन गराइरहेका छन् ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ले महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ पतन गराउन मिल्ने व्यवस्था गरेको छ । गर्भपतन नगराएमा महिलाको ज्यान जन सक्ने खतरा भए मञ्जुरीमा त्यस्तो गर्भपतन गराउन मिल्छ । गर्भवती महिलालाई करकाप गरी, डरधम्क्याई या कुनै प्रलोभनमा पारि गर्भपतन गराउन भने कानूनले बन्देज लगाएको छ ।
कान्तिपुर