शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नर्सिङ शिक्षामा मनपरी : नियम विपरीत ७ कलेजका १३ कार्यक्रम एउटै अस्पतालमा

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६


नर्सिङ शिक्षामा मनपरी : नियम विपरीत ७ कलेजका १३ कार्यक्रम एउटै अस्पतालमा

धनगढी- सेती अस्पतालमा नियम विपरीत ७ कलेजका १३ वटा कार्यक्रम संचालन भएको पाइएको छ। १ सय ७५ शय्या भएको उक्त अस्पतालले आफ्नै सरकारी कार्यक्रमका नर्सिङ शिक्षा संचालन गर्नुपर्ने भएपनि विभिन्न ७ कलेजका कार्यक्रम संचालनमा सहयोग गरेको छ।

नेपाल नर्सिङ काउन्सिलको मापदण्ड अनुसार नर्सिङ कार्यक्रम संचालनका लागि कम्तीमा पनि ५० शय्याको आफ्नै अस्पताल हुनुपर्छ। सरकारी वा अन्य अस्पताल देखाएर नर्सिङ कार्यक्रम संचालन गर्न पाइँदैन। तर उक्त मापदण्ड विपरीत सेती अस्पतालाई देखाएर ७ कलेजले १३ कार्यक्रम संचालन गरिरहेका छन्।

काउन्सिलको मापदण्ड अनुसार ५० शय्या भएका अस्पतालले बढीमा २० र १०० शय्या भएका अस्पतालले बढीमा ४० सिटमा मात्र विद्यार्थी भर्ना गर्न पाउँछन्। सेती अस्पताल ५० वेडका रुपमा स्वास्थ्य सेवा विभागमा दर्ता भएको छ। अस्पताल विकास समितिले एक सय २५ वेड थप गरेको थियो।

सेती अस्पतालमा नियमविपरीत शैलेश्वरी फारवेस्टको नर्सिङ, ल्याब र हेल्थ एसिस्टेन्ट, फारवेस्ट टेक्निकल कलेजको नर्सिङका दुई, भागेश्वरी एकेडेमीको हेल्थ एसिस्टेन्ट, एकीकृत सामुदायिक विकास केन्द्रको ल्याब, अनमी १८ महिने, ६ महिने र सिएमए, सेती प्राविधिक शिक्षालयको दुई समूहको अनमी, सुजुङ नर्सिङ अस्पताल र पदमा नर्सिङ कलेजको नर्सिङ कार्यक्रम तथा फारवेस्ट कलेजको हेल्थ एसिस्टेन्ट कार्यक्रम सञ्चालन छन्।

‘नियम अनुसार हामीले एउटै संस्थालाई मात्र कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने हुन्थ्यो। तर तत्कालीन अस्पताल विकास समितिले अर्को व्यवस्था नभएसम्मका लागि कलेजहरूलाई प्रयोगात्मक कक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ। अस्पताल विकास समितिको निर्णय गरेको झन्डै आठ वर्ष पुग्न लाग्दा समेत त्यही निर्णय लागू भइरहेको छ,’ सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेले भने।

मेडिकल सुपरिटेन्डेन्ट डा पाण्डेले यति धेरै कार्यक्रम सञ्चालन गर्दा अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय हुन नसकेको बताए। उनले अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सरकारले बनाएको नियम, कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए।

अस्पताल बिनै नर्सिङ कलेज
कैलालीको धनगढीस्थित शैलेश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी कलेजमा अध्ययनरत विद्यार्थीहरू प्रयोगात्मक कक्षा लिन सेती  अस्पताल आउने गरेका छन्।

२०६७ सालमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट मान्यता पाएको सो कलेजले सेती  अस्पताललाई प्रयोगात्मक कक्षाका रुपमा उल्लेख गरेको थियो। कलेजले नर्सिङ, ल्याव र हेल्थ एसिस्टेन्टका विषयहरूको प्रयोगात्मक कक्षाका लागि सेती  अस्पतालसंग सम्झौता गरेको जनाइएको छ। कलेजले ल्यावमा ३०, नर्सिङ र हेल्थ एसिस्टेन्टका ४०/४० जना विद्यार्थीहरू भर्ना लिने गरेको छ।

धनगढीकै फारवेस्ट टेक्निकल कलेजले पनि २०६७ सालमै परिषदबाट नर्सिङ कलेजको सञ्चालनका लागि अनुमति पाएको हो। फारवेस्ट कलेजले पनि सेती अस्पतालसंग प्रयोगात्मक कक्षाका लागि सम्झौता गरेको थियो। फारवेस्टले दुई सिफ्टमा ४०/४० जना गरी ८० जना विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि अस्पतालमा पठाउने गरेको जनाएको छ।

नर्सिङ कलेज सञ्चालन गर्न अनिवार्य रूपमा आफ्नै अस्पताल हुनुपर्ने प्रावधान छ। स्वास्थ्य मन्त्रालयले २०६७ सालमा नर्सिङ कलेजको आफनै अस्पताल हुनुपर्ने निर्णय गरेको थियो। नर्सिङ कलेज सञ्चालनका लागि कम्तिमा पनि अनिवार्य रूपमा ५० बेडको आफनै अस्पताल हुनुपर्छ। यस्ता अस्पतालमा बेडको अकुपेन्सी ६० प्रतिशतभन्दा बढी हुनुपर्ने नियम छ।

शैलेश्वरी र फारवेस्ट टेक्नीकल कलेजमात्र होइनन आफनै अस्पताल भएको नर्सिङ कलेजले पनि सेती  अस्पतालमा प्रयोगात्मक शिक्षाका लागि पठाउने गरेको छ। कैलालीको अत्तरियास्थित पदमा नर्सिङ कलेजले पनि एक महिनाका लागि विद्यार्थीहरू पठाउने गरेको सेती  अस्पतालले जनाएको छ।

सेती अस्पतालमात्र होइन महाकाली अस्पतालमा पनि प्रयोगात्मक शिक्षाका लागि प्रयोग हुने गरेको छ। महाकाली  अस्पतालमा सेती महाकाली नर्सिङ कलेजले प्रयोगात्मक शिक्षाका लागि प्रयोग गर्ने गरेको छ।

नेपाल नर्सिङ काउन्सिलले गत असार १८ गते सार्वजनिक गरेको नर्सहरूको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा नेपाल र भारतका गरी दुई सय १४ वटा कलेजमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए। तीमध्ये धेरैजसो कलेजको नतिजा सून्य आएको छ।

फारवेस्ट टेक्निकल कलेजबाट पाँच, पद्मा हस्पिटलका चार, सेती महाकाली नर्सिङ कलेज महेन्द्रनगरका आठ, शैलेश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साइन्स कलेजका छ, सुजुङ हस्पीटल सुजुङ हेल्थ एण्ड टेक्निकल एकेडेमी डोटीका चार, सुदूरपश्चिमाञ्चल मेडिकल कलेज एण्ड हस्पिटल कैलालीका दुई जना र टीकापुर नर्सिङ कलेजका एक जना फेल भएका थिए।

नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सबाट एक, सेती महाकाली नर्सिङ कलेज तीन, सुदूरपश्चिमाञ्चल मेडिकल कलेज एण्ड हस्पीटल कैलालीका एक र टीकापुर नर्सिङ कलेजका एक जना पास भएको नजिता सार्वजनिक भएको थियो।

यी नतिजाले सुदूरपश्चिम प्रदेशको नर्सिङ कलेजको अवस्था झल्काएको छ। नर्सिङ कलेजहरूको आफनै अस्पताल नहुँदा र भएका अस्पतालमा पनि आवश्यकता अनुसारका उपकरण नहुँदा नर्सिङ कलेजले राम्रो जनशक्ति उत्पादन गर्न सकेका छैनन्।

सेती  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भने– ‘अधिकांस नर्सिङ विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि प्रयोगात्मक शिक्षामा ध्यान दिएको देखिदैन।कलेजले विद्यार्थीहरू पठाउँदा एक जना प्रशिक्षक पठाउनुपर्नेमा अधिकाँसले त्यस्तो गर्दैनन्।’

सम्झौता नगरि कार्यक्रम
सेती  अस्पतालमा शैलेश्वरी, फारवेस्ट, भागेश्वरी कलेज र सुजुङ अस्पतालले सम्झौता गरेर कार्यक्रम अघि बढाइरहेका छन्। शैलेश्वरीले २०६४, फारवेस्टले २०६७, भागेश्वरीले २०७२  र सुजुङले २०७५ सालमा प्रयोगात्मक कक्षा सञ्चालन गर्न अस्पतालसंग सम्झौता गरेको थियो।

अस्पतालमा एकिकृत सामुदायिक विकास केन्द्रले ल्याव, सिएमए र अनमी गरि चार वटा कार्यक्रमका लागि गरेको सम्झौता २०७१ सालको असार मसान्तमा सकिएको थियो। केन्द्रले अहिले पनि अस्पतालमा प्रयोगात्मक शिक्षा सञ्चालन गरिरहेको जनाइएको छ।

त्यस्तै, पद्मा नर्सिङ कलेज, खप्तड कलेजले कार्यक्रम सञ्चालनको सम्झौता नगरि प्रयोगात्मक शिक्षाका लागि विद्यार्थीहरू पठाउने गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाण्डेले भने– ‘पदमा र खप्तड कलेजले पटके रुपमा एक महिनाका लागि विद्यार्थीहरू प्रयोगात्मक शिक्षाका लागि पठाउने गरेका छन्।’

स्वास्थ्य खबर पत्रीका

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra