शुक्रबार, चैत्र १६, २०८० Friday 29th of March 2024

कोरोना के हो ? बालबालिकामा कोरोनाक‍ो प्रभाव

  • डा बिकास भण्डारी
  • प्रकाशित मिति : मङ्लबार, चैत्र ४, २०७६


कोरोना के हो ? बालबालिकामा कोरोनाक‍ो प्रभाव

बुटवल : चिनबाट सुरुभइ विश्वभर फैलिरहेको कोरोना भाइसर (COVID-19) को संक्रमणप्रति सजगता, सर्ने तरिका, लक्षण कस्ता हुन्छन, रोगथाम तथा नियन्त्रण कसरी गर्ने सम्बन्धि देवदह मेडिकल कलेज, मेडिटेक इन्टर्नेशनल हस्पिटल तथा तिनाउ इन्टर्नेशनल हस्पिटलमा कार्यरत नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर बिकास भण्डारीसंग स्वास्थ्यपत्रका लागि कृष्ण गाउँलेले तयार पारेको सामग्रीको सम्पादित अंश :

नोवेल कोरोना भाइरस भनेको के हो ?

यो एउटा भाइरसहरूको ठुलो परिवार हो । जसले जनावर र मानिसमा श्वासप्रश्वास सम्बन्धि समस्या ल्याउँछ । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।

साधारण रूघाखोकि देखि गम्भीर खालको Severe Acute Respiratory Syndrome (SARS) 2003 र Middle East Respiratory Syndrome (MERS) 2012 सम्म यसले गराउँछ । यसपालिको रोग सोही Corona Virus Diisease (COVID -19) भाइरसले बनाएको हो । कोभिड-१९ चिनको वुहान सहरबाट गत डिसेम्बरमा सुरु भएर हाल संसारभरि महामारीको रूप लिएको छ । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ ।

कोभिड-१९ कसरी सर्छ ?

यो रोग लागेका मान्छेबाट अरु मान्छेमा सर्छ । कोभिड-१९ लागेका मान्छेले हाछ्यौ गर्दा, खोक्दा नाक मुखबाट निस्कने छिटाहरुबाट स्वस्थ्य मान्छेलाई यो रोग सर्दछ । ती छिटाहरु कि स्वस्थ्य मान्छेमा कि नजिकैको बस्तुमा पर्दछन जसलाई आफ्नै नाक, आँखा र मुखमा हात लैजाँदा य‍ो रोगको संक्रमण हुन सक्छ । त्यसैले बिरामी देखि कम्तिमा १ मिटर टाढा बस्नु र स्वस्थ्य जीवन शैली अपनाउनु पर्दछ ।

कोभिड-१९ का लक्षणहरु के के हुन्छन ?

सामन्यतया रुघाखोकी त लाग्छ नै त्यसपछि क्रमश उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ, सुख्खा खोकी लाग्छ, नाक डम्म हुन्छ, घाँटी दुख्छ कतिपयलाई पखला लाग्नुका साथै कसैलाई संक्रमण भएपनि कुनैपनि लक्षण नदेखिन सक्दछ । यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

यसबाट बच्न के गर्न सकिन्छ ?

– यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो ।
– विश्व स्वास्थ्य संगठन तथा आफ्नो क्षेत्रका स्वास्थ्य विशेषज्ञको कुरामा मात्र बिश्वास गर्ने । सुनेको अफवाहका पछि नलाग्ने र सावधानी अपनाउने ।
– रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने,
– भिडभाडमा सावधानी अपनाउने,
– सरसफाईमा विशेष ध्यान दिने,
– साबुनपानीले नियमित रुपमा राम्रोसँग हात धुने
– आँखा, नाक, मुख बारम्बार नचलाउने । जसले गर्दा हातमा भएका किटाणुले स्थान नपाउन ।
– हाछ्यौ गर्दा वा खोक्दा नाकमुखलाई छोप्ने, गुणस्तरीय मास्कको प्रयोग गर्ने ।

यो कस्ता मान्छेलाई लाग्छ ?

सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्दछ। तर अहिलेसम्मको तथ्यांक हेर्दा ज्येष्ठ नागरिक र पहिल्यै देखिनै दम, मधुमेह, मुटुको रोग, क्यान्सर पीडित जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ ।

के एन्टिबायोटिकले यसको उपचार सम्भव हुन्छ ?

हुदैन । एन्टिबायोटिकले ब्याक्टेरियाबाट भएको संक्रमणलाइ निको पार्छ । तर यो भाइरसको संक्रमणले लाग्ने गर्दछ । संगै ब्याक्टेरियाको संक्रमण भयो भने चिकित्सकबाट सल्लाह लिनु पर्दछ ।

के यो विरुद्ध कुनै खोप छ ?
अहिलेसम्म बनेको छैन ।

के सबैले मास्क लगाउन जरुरी छ ? कस्ले लगाउने ?

– सबैले मास्क लगाउनै पर्छ भन्ने छैन । तर कुनै बिरामी वा संकास्पद ब्यक्तिको सम्पर्कमा जानुपरेमा मास्को प्रयोग गर्नुपर्ने हुन्छ ।
– आफैलाई रुघाखोकी लागेको छ भने मास्कको प्रयोग गर्ने र सहि विसर्जन गर्नुपर्छ ।

के कोभिड-१९ ले बालबालिकालाई असर गर्छ?

यो एक नयाँ प्रकारको भाइरस भएको कारण यसले बालबालिका तथा गर्भवती महिलालाई कसरी असर गर्छ भन्ने बारे विस्तृत जानकारी उपलब्ध छैन। यस भाइरसले सबै उमेरका मानिसमा संक्रमण गर्नसक्ने भएतापनि हालसम्म बालबालिकाहरूमा कोभिड-१९ को संक्रमण तुलनात्मक रुपमा कमै मात्र पाईएको छ। हालसम्म कोभिड-१९ का कारण मृत्यु भएको संख्या एकदमै न्युन छ, जसमा पहिल्यै देखि स्वास्थ्य सम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकहरू पर्दछन्।

बालबालिकामा कोभिड-१९ का लक्षण देखिएमा के गर्ने?

कोभिड-१९को लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु पर्दछ तर याद राख्नु पर्छ कि, सामान्य रुघाखोकी ज्वरोका लक्षण र कोभिड-१९को लक्षण उस्तै देखिन सक्छन् र हालको मौसममा धेरैलाई सामान्य रुघाखोकी मात्रै लागेको हुनसक्छ।

नियमित रुपमा हात धुने जस्ता हात तथा श्वासप्रश्वासको सरसफाईका आनिबानीमा विशेष ध्यान दिंदै बालबालिकालाई खोपपनि अध्यावधिक गर्नुपर्छ ताकि उनीहरूलाई अन्य भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट जोगाउन सकियोस् ।
बालबालिकामा फ्लु जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ र अरूलाई संक्रमणबाट जोगाउन भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक स्थानबाट सकेसम्म टाढै रहनुपर्छ ।

के बालबालिकालाई विद्यालय जानबाट रोक्नुपर्दछ ?

बालबालिकामा यसका लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ र स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ । अन्यथा श्वासप्रश्वास सम्बन्धी (सामान्य रुघाखोकी) समस्या देखिएमा अन्य समयमा जस्तै घरैमा मनग्य आराम गराउनु पर्छ र अरूमा संक्रमण हुनबाट जोगाउन सार्वजनिक स्थानहरुमा नजानु उचित हुन्छ ।

यदि बालबालिकामा यसका कुनैपनि लक्षण देखिएका छैनन् र सार्वजनिक रुपमा कुनै स्वास्थ्यसम्बन्धी आधिकारिक निषेधाज्ञा वा सम्बन्धित विद्यालय बारे निषेधात्मक सुचना जारी भएको छैन भने बालबालिकालाई विद्यालय पठाउनु नै उपयुक्त हुन्छ।

बालबालिकालाई विद्यालय नपठाउनुको विकल्पमा बरू उनीहरूलाई विद्यालय र अन्यत्रका लागि पनि काम लाग्ने गरि श्वासप्रश्वास सम्बन्धी असल व्यवहार सिकाउनुपर्छ, जस्तै: नियमित रुपमा हात धुने, खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक तथा मुख छोप्ने र प्रयोग पश्चात त्यसलाई बन्द फोहोरदानीमा फाल्ने, राम्रोसँग हात नधोईएको अवस्थामा हातले आँखा, नाक वा मुख नछुने आदि।

केही भ्रम र जिज्ञासाहरु छन, के बजारमा आएका हल्लाहरु सत्य हुन ?

– चिसो मौसम र हिउँले भाइरसलाई मार्दैन ।
– तातो पानीले नुहाउनाले र घाममा बस्नाले यो रोग निको हुँदैन ।
– लामखुट्टेले टोकेर यो रोग लाग्दैन ।
– निमोनियाको खोपले यो रोग नलाग्ने होइन ।
– यसलाई न्यून गर्ने कुनै अौषधी छैन ।
– अदुवा, लसुन, हर्रो, बर्रो जस्ता जडिबुटी जन्य बस्तुको आफ्नै महत्त्व छ तर य‍ो रोग निको पार्छ भन्नू भ्रम हो ।

(डाक्टर भण्डारी देवदह मेडिकल कलेज, मेडिटेक इन्टर्नेशनल हस्पिटल तथा तिनाउ इन्टर्नेशनल हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra