शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

जाडोमा देखिने प्रमुख स्वास्थ्य समस्या र बच्ने उपाय

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : मङ्लबार, पुस ८, २०७६


जाडोमा देखिने प्रमुख स्वास्थ्य समस्या र बच्ने उपाय

जाडो मौसम सुरु भएसंगै यससंग संबन्धित रोग पनि देखिन सुरु भैसकेका छन । जाडोयाममा विशेषत् बुढाबुढी र बालबालिका बढी प्रभावित हुन्छन् । बालबालिकामा पनि शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ ।

जाडो याममा देखिने स्वास्थ्य समस्या

रुघाखोकी – जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । रुघाखोकी लाग्नुको मुख्य कारण भाइरल संक्रमण नै हो । भाइरल संक्रमणबाट बच्ने उपाय भनेको रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने र उनीहरूले प्रयोग गरेको सामान सकेसम्म प्रयोग नगर्नु नै हो । शरीरलाई न्यानो राख्न सक्यो भने पनि भाइरल संक्रमणबाट बच्न सकिन्छ । त्यसैले समय समयमा तातो तरल पदार्थको सेवन निकै हितकर हुन्छ । जाडोयाममा पानी थोरै मात्र पिउने बानी धेरैमा हुन्छ, जुन अस्वस्थकर मानिन्छ ।

श्वासप्रश्वास समस्या – विशेषगरी यो समस्या ६५ वर्षमाथिका वृद्धवृद्धामा देखिन्छ । श्वासप्रश्वासको समस्या भएका वृद्धवृद्धाका लागि जाडोयाम निकै कष्टकर समय हो । चिसोका कारण थोरै मात्र काम गर्दा पनि दम बढ्छ भने यसले अन्य धेरै समस्या निम्त्याउँछन् । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ। त्यसैले जाडो याममा बूढाबूढीलाई चिसोबाट जोगाउनु नै उत्तम हुन्छ।

निमोनिया – यो धेरैजसो दुई वर्ष भन्दा कम उमेरका बच्चाहरू र बूढाबूढीमा देखिने रोग हो । यो एक प्रकारको छातीमा हुने संक्रमण हो । यो रोग पनि भाइरस, ब्याक्टेरिया, फंगसकै संक्रमणका कारण हुन्छ । यो अन्य मौसममा पनि देखा पर्न सक्छ । तर, जाडोयाममा भने यसले अलिक धेरै उग्र रुप लिन्छ । किनभने यो स्वासप्रस्वास, रुघाखोकी सबैलाई साथै लिएर आउँछ र उपचारलाई झन् जटिल बनाइ दिन्छ ।

हाइपोथर्मिया – जाडोयाममा बाहिरको मौसमलाई बेवास्ता गरेर मनलागि गरे हाइपोथर्मिया हुने सम्भावना धेरै रहन्छ । हाइपोथर्मिया आफैँमा रोग भने होइन । तर, यसले विभिन्न प्रकारको स्वस्थ्य समस्या भने निम्त्याउन सक्छ । हाइपोथर्मिया भनेको आफ्नो शरीरले उत्पादन गर्न सक्ने तापभन्दा छिटो त्यो ताप शरीरबाट बाहिरिनु हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा वा चिसोको सम्पर्कमा धेरै समय रहँदा यो आपतकालिन समस्या उत्पन्न हुन सक्छ । यदि यसको समयमा नै उपचार वा रोक थाम गरिएन भने ज्यान जाने खतरासम्म रहन्छ ।

कार्बनमोनोअक्साइड पोइजनिङ – यो जाडोयाममा मानिसको लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण झ्यालढोका सबै बन्द पारेर आगो ताप्ने चलन छ । तर, कतैबाट हावा नै नछिर्ने गरि बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ वा मृत्यु नै पनि हुन सक्छ । जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ ।

फ्रस्टबाइट – यो समस्या विशेषगरी हिउँ पर्ने ठाउँमा देखिन्छ । शरीरको कुनै पनि अंग धेरै लामो समयसम्म हिँउ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ । त्यसैले शरिरलाई हिउँ वा चिसो वस्तुबाट जोगाउँनु नै राम्रो हुन्छ । यदि धेरै नै नराम्रोसँग फ्रस्टबाइट भएमा उक्त ठाउँलाई चिरेर नै फाल्नुपर्ने अवस्था पनि आउन सक्छ । यो खासगरी हिमाली क्षेत्रमा बस्ने मानिसको हात–गोडामा देखिन्छ

हृदयाघात र फोक्सोको संक्रमण – चिकित्सकका अनुसार चिसोका कारण रगत जम्ने समस्या बढ्छ। यो मौसममा उच्च कोलेस्टोरल, उच्चरक्तचाप बढ्ने हुन्छ । सामान्य रक्तचाप भएकामा पनि यो मौसममा रक्तचाप तलमाथि भइरहेको हुन्छ । केही छैन भनेर बस्नुभन्दा रक्तचाप नियमित जाँच्नु पर्ने हुन्छ ।

‘चिसो बढ्दा रगतमा फ्रिब्रिनोजेन, फ्याक्टर सेभेन, सिपिआर, कोलेस्टोरलजस्ता तत्व बढ्छ,’ उनले भने, ‘यसका कारण रगतका नशा खुम्चिन्छ र यस्तो समस्या बढ्छ ।’ यस्तो समयमा युवाहरुमा हार्ट–एट्याक्टको जोखिम बढी हुन्छ।

जाडो महिनामा फोक्सोको संक्रमण पनि बढ्छ। वायुमण्डलमा चिसो हुनाले बढी दिनसम्म किटाणु बच्ने हुँदा दमका रोग र श्वासप्रश्वासको समस्या निको हुन गाह्रो हुन्छ। वृद्धवृद्धामा प्राकृतिक रुपमै जाडो सहने क्षमता कमजोर हुनाले पनि चिसोसम्बन्धी रोग बढ्छ। उच्च रक्तचाप भएका र कोलेस्टोरल भएकाहरु बिहान चिसोमा नहिँड्न र हिँडे पनि चिसोको पूरै प्रोटेक्सन गरेर हिँड्दा राम्रो हुन्छ ।

चिकित्सकले यस्तो अवस्थामा रोगप्रतिरोध क्षमतासमेत घट्ने बताउँछन्। चिसोबाट बालबालिका, अशक्त, दीर्घरोगी, दमका बिरामी, गरिब र सडकमा बस्ने बढी जोखिममा हुन्छन्। चिकित्सकले चिसोबाट बच्ने तातो बस्ने, तरल कुरा प्रशस्त पिउनेजस्ता सावधानी अपनाउन सुझाव दिएका छन्।

जाडोमा स्वस्थ रहन के गर्ने ?

– जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै फाइदा हुन्छ । हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।

– भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने ।

– तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने ।

– बन्द कोठाभित्र नभई राम्रोसँग हावा आवतजावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।

– मौसमी फलफुल विशेष गरेर भिटामीन सि युक्त फलफुलको सेवन धेरै गर्ने ।

– श्वासप्रश्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अपउने र समय–समयमा चिकित्सकसँग परामर्श गरिरहने ।

– बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु हुँदैन । भित्रभित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।

– हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चराइजर क्रिमको प्रयोग गर्ने ।

– जाडो मौसममा तुँवालो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ ।

(डाक्टरहरुको सल्लाह अनुसार तयार गरिएको सामाग्री)

फोटो – सामाजिक सञजालबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra